मंसिर १५, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको छ ।
आयोगले बिहीबार ८८ जना उपसचिवलाई अभिमुखिकरण तालिम दिएर शुक्रबारबाट फिल्डमा खटाएको हो । यी अनुगमनकर्ताले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारहरुको चुनावी प्रचार प्रसार, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा अनुगमन गर्नेछन् ।
अनुगमनको क्रममा आचारसंहिता विपरितका घटना देखिए तत्काल निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउने र आयोगले पनि तत्कालै कारवही गर्ने जनाईएको छ । सुक्ष्म अनुगमनकर्ताहरु मंसिर २२ गतेसम्म फिल्डमा रहनेछन् ।