देशभरिका वडा र स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले, कस्तो बन्दैछ स्थानीय तहमा कमिटी ?

१ कार्तिक २०७८, सोमबार १७:०४

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको अधिवेशनमा जुटेको छ। कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गरिसक्ने गरी एमालेले तयारी अघि बढाएको हो। देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने तयारी छ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म १०औं राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ।

कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल गर्ने कार्यक्रम छ। बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकै पटक भर्चुअल रूपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको छ।

एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी संख्या निर्धारण गरेको छ।

एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भई चाँडै तल्ला कमिटीमा पठाइने र सोहीबमोजिम अधिवेशन हुने बताए।

अधिवेशनमा स्थानीय स्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन्। गाउँरनगरपालिका-७५, उपमहानगरपालिक-८५, महानगरपालिका-१०१ सदस्य चुनिनेछन्।

एमालेले राष्ट्रिय महाधिवेशन पूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिका स्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो। सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ।