दसैँको बेला फलफूलको मूल्यमा वृद्धि

२९ आश्विन २०७८, शुक्रबार २१:३०

काठमाडौं । नेपालीको महान चाड बडा दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा दसैँको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् ।

काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् ।

एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरूको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरू बताउँछन् ।

ब्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरू नआउँदा केही महंगो भएको बताएका छन् ।