सात सय ४४ वटा राँगाको बलि

२९ आश्विन २०७८, शुक्रबार १८:१५

काठमाडौं । बडादसैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको भएपनि यसवर्ष भने बढी नै बलि प्रदान गरिएको जनाइएको छ । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका भक्तजनका राँगा पालैपालो बलि चढाइएको थियो ।

बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म करिब २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो ।

आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताए ।