रुकुममा वडाध्यक्ष गुरुङको निधन

२५ आश्विन २०७८, सोमबार १५:३२

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ । ५४ वर्ष उमेरमा वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमै निधन भएको हो ।

कार्यवाहक वडाध्यक्ष मग कामीका अनुसार ३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि नै उपचाररत थिए । मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन् ।

उनी जनयुद्ध कालमा जनमुक्ति सेनाको विग्रेड सह–कमाण्डरसम्म पुगेका थिए भने हाल नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिवालयका वरिष्ठ सदस्य रहेका थिए ।

२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा गुरुङ नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।