मंसिर १४, काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको एचआइभी एड्स रोगको संक्रमण घट्दो क्रममा रहेको जनाएको छ । एक तथ्यांकअनुसार सन् २०१० देखि २०१६ सम्ममा विश्वव्यापीरुपमा एचआइभी संक्रमण ११ प्रतिशतले घटेको छ ।
एड्स रोगबाट सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको वर्ष सन् २००५ मानिएको छ । उक्त वर्षलाई आधार मान्दा सन् २०१६ सम्ममा आईपुग्दा एड्सबाट मर्नेको संखया ४८ प्रतिशतले घटेको छ । सन् २०१६ को अन्त्यसम्ममा विश्वभर तीन करोड ६७ लाख व्यक्तिमा एचआइभी संक्रमण रहेको अनुमान छ । सन् २०१६ सम्मा विश्वमा कुल एचआइभी संक्रमित व्यक्तिमध्ये ५३ प्रतिशत (एक करोड ९५ लाख) मात्र एचआइभी उपचारमा छन् । नेपालमा पनि एचआइभी संक्रमितको संखया सन् २०१० को तुलनामा सन् २०१६ सम्मा ५७ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जानाएको छ । बच्चाहरुमा हुने संक्रमण ६८ प्रतिशत घटेको र एड्सका कारण मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको केन्द्रले जनाएको छ । सन् २०१६ सम्ममा नेपालमा ३२ हजार ७५३ जना संक्रमित रहेको अनुमान छ । यीमध्ये ४० प्रतिशत (१४ हजार ५४४ जना) एआरभी (एन्टी रेट्रो भाइरल) उपचारमा रहेको केन्द्रले जनाएको छ ।
सन् २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितलाई उपचारमा पहुँच पु¥याउने सरकारको प्रतिवद्धता छ । नेपालमा संक्रमितमध्ये पुरुषको संखया २० हजार २३२ र महिलाको संख्या १२ हजार ५०३ छ । केन्द्रका अनुसार यीमध्ये ७० प्रतिशत असुरिक्षत यौन सम्पर्कका कारणले संक्रमित भएका हुन् । विश्व एडस् दिवसका अवसरमा विहीबार उक्त तथ्यांक सार्वजनिक गरिउको हो । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिएको छ । यसपटक तीसौं विश्व एडस् दिवस‘ मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ मनाईदै छ । – हिमालय टाइम्स

