स्याङ्जामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

२५ आश्विन २०७८, सोमबार १०:४९

फाइल तस्बिर

काडमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना हुँदा जीपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको हो ।

दुवै जनाको गह्रौं प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिपमा १९ जना सवार थिए । उनीहरु दशैंको बेला वालिङ बजारबाट किनमेल गरेर गाउँतर्फ फर्किरहेका थिए । उकालो कच्ची सडकमा अनियन्त्रित भएर जीप ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरु धेरैजसो गल्याङ– १० का बासिन्दा छन् । घाइते हुनेहरुमा गल्याङ नगरपालिका–१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र दुई वर्षीय एञ्जल गाहा घाइते भएका छन् ।

त्यस्तैगरी गल्याङ–१० कै ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, २२ वर्षीया पुष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, तीन वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली र २४ वर्षीया तिर्सना पनि घाइते भएका छन् ।

वालिङ नगरपालिका–१० बझाकोटकी २४ वर्षीया सपना थापा र दुई वर्षीय नवीन थापा पनि घाइते भएका छन् ।

मध्यम घाइते भएका ६ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइते भएकाहरूको गह्रौं प्राथमिक अस्पताल वालिङमै उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

चालकको अवस्था सामान्य छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।