प्लस टु परिक्षाको उत्तरपुस्तिका जाँच गर्दा “सेटिङ”

२५ आश्विन २०७८, सोमबार १०:०१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ ।

बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेरील्याण्ड, शिक्षादीप र अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँचमा ‘सेटिङ’ भएको छ । शुक्रबार मेरील्याण्डका शिक्षकले आफ्नै स्कुलको कपी जाँच गरिरहेको फेला परेपछि घटना बाहिर आएको हो ।

परीक्षा बोर्ड विराटनगर स्रोतका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासको मिलोमतोमा सम्बन्धित स्कुलका शिक्षकलाई उत्तरपुस्तिका जिम्मा लगाइएको थियो । बोर्डले अधिकृत समिता राईलाई उत्तरपुस्तिका जाँचको जिम्मा दिएको छ ।

शुक्रबार राई जाँच केन्द्रबाट बाहिर गएका बेला मेरिल्याण्डका शिक्षकलाई सोही कलेजका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिइएको थियो । ती शिक्षकले पाएको मध्ये आधा कपी जाँचिसकेपछि सेटिङको रहस्य बाहिर आएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका सूचना अधिकारी दया राईका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले कपी दिएको गुनासो बाहिरबाट आएको छ । आफ्नै विद्यार्थीको कपी काटेको पाइएपछि शिक्षकबाट कपी खोसिएको उनले बताए ।

‘कार्यालबाट कमजोरी भएको छ,’ उनले भने, ‘तर विद्यार्थीलाई भिक्टिम बनाउने कुरा आउँदैन, विषय विज्ञबाट पुनः परीक्षण हुन्छ ।’ घटनाको विषयमा केन्द्रमा पनि जानकारी गराइएको उनले बताए ।

यता मेरील्याण्ड कलेजका सञ्चालक मध्येका एक भेषराज पोखरेल उत्तरपुस्तिका जाँच गर्दाको विषयका बारेमा जानकारी नभएको बताए । कपी जाँच गर्ने विषय बोर्डको आन्तरिक व्यवस्थापनमा रहने बताउँदै उनले कमजोरी भए सच्याउनु पर्ने बताए । विद्यार्थीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।