
काठमाडौं । दशैं, तिहार र छठलाई खुशीको पर्व मानिन्छ तर यहीबेला हुनसक्ने आपराधिक क्रियाकलापले परिवारमा निराशा ल्याइदिनसक्छ । त्यसैले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वका नाममा मादक पदार्थ सेवन गर्ने र जुवातास खेल्ने कार्यलाई निषेध गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा बताउँछन् । तर घरमा बसेर रमाइलोका लागि खेलिने तासलाई भने नरोकिने लामाको भनाइ छ । उनी भन्छन्, ‘जब जीत–हारमा तास खेलिन्छ, त्यसमा त्यो रमाइलो मात्र रहँदैन, जुवा हुन्छ । त्यस्तो अवस्थामा प्रहरीले कसैलाई छाड्दैन ।’
दशैंमा हुनसक्ने पकेटमारी र चोरीलाई रोक्न सादा पोशाकमा विशेष टोली समेत परिचालन गरिएको उनको भनाइ छ । उपत्यकाबाट घर छोडेर अन्य जिल्ला जाँदा प्रहरीलाई खबर गर्न पनि उनको सुझाव छ । ‘रित्तो घर छाडेर जाँदा चोर छिर्नसक्छन्’ लामाले आयोखबरसँग भने, ‘त्यसैले पहिले छिमेकी र नजिकैको प्रहरीलाई आफू घर छोडेर गएको खबर गर्नुस् ।’
