
एजेन्सी ।
ताइवानमा संलग्न रहेकोमा अमेरिकालाई चेतावनी दिँदै चीनले ताइवानका कमजोर र डरपोक अधिकारीहरू पुनरेकीकरणका लागि मान्ने दाबी गरेको छ ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित एक आलेखमा ताइवानमा सैन्य संलग्नता देखाएको अमेरिकाले असह्य पीडायुक्त परिणाम भोग्नुपर्ने उल्लेख छ । चीनले आक्रमण गर्दा सबभन्दा पहिले अमेरिकी सैनिकहरूको सफाया हुने पनि त्यसमा लेखिएको छ ।
हालैका दिनमा ताइवानको हवाईक्षेत्रमा चीनको वायुसेनाले युद्धविमानहरू उडाइरहेको छ ।
बेइजिङले ताइवानलाई आफ्नै प्रान्त मान्ने गरेको छ र लामो समयदेखि पुनरेकीकरणको प्रयास गरेको छ ।
राष्ट्रपति सी चिनपिङले ताइवानसँगको शान्तिपूर्ण पुनरेकीकरण अवश्यम्भावी रहेको बताएका छन् ।
यसैबीच ताइवानकी राष्ट्रपति त्साई इङ–वनले लोकतान्त्रिक शैली र स्वतन्त्रतालाई कदापि परित्याग नगर्ने र चीनको आक्रमणलाई सशक्त प्रतिकार गर्ने दोहोर्याएकी छन् ।
