केराको घरीले जिउमा लाग्दा कामदरलाई ६ करोड ३ लाख २८ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश

२४ आश्विन २०७८, आईतवार १६:५२

एजेन्सी ।
कतिपय देशमा कार्यस्थलमा हुने दुर्घटनापछि मजदुरको जिन्दगी नै बर्बाद हुने गर्छ । सामान्य जीविकाका लागि समेत मजदुरले कुनै क्षतिपूर्ति पाउँदैनन् ।

तर अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित कुकटाउनमा रहेको केरा खेतमा काम गर्ने मजदुरमाथि घरी खसेर घाइते हुँदा कम्पनीले ठूलो क्षतिपूर्ति दिनुपरेको छ ।

द केन्र्स पोस्टमा प्रकाशित रिपोर्टअनुसार मजदुर जेम लङबटमले केराखेतमा काम गर्दा सन् २०१६ मा उनको शरीरमा केराको घरी खसेको थियो । घरीले घाइते भएका उनलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । उनी अहिले काम नै गर्न नसक्ने भएका छन् ।

आफू घाइते भएपछि जेमले अदालतमा मुद्दा दायर गरेका थिए । लामो सुनुवाइपछि हालै अदालतबाट फैसला आएको छ । जसमा केरा उत्पादक कम्पनीले मजदुरलाई ५ लाख २ हजार ७४० डलर अर्थात् ६ करोड ३ लाख २८ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश गरिएको छ ।

अदालतका न्यायाधीश केथरीन होम्सले गरेको फैसलामा मजदुर जेमको मागदाबीलाई सही ठहर गरिएको छ । केराको घरी शरीरमा खसेको दिनदेखि जेम पुनः काममा जान नसकेको र अन्य काम पनि गर्न नसक्ने भएकाले उनलाई क्षतिपूर्ति दिनुपर्ने ठहर गरिएको हो ।

केराको घरी बोक्नेबारे पर्याप्त तालिम र प्रशिक्षण नहुँदा घटना भएकाले क्षतिपूर्ति पाउनुपर्ने मागदाबी मजदुर जेमले गरेका थिए ।