अमेरिकी सेनासँग गोप्य रुपमा तालिम लिँदै ताइवानी सैनिकहरु

२२ आश्विन २०७८, शुक्रबार १५:१६

एजेन्सी ।

अमेरिकी सेनाका प्रशिक्षकहरूले एक वर्षदेखि गोप्य रूपमा ताइवानी सैनिकहरूलाई प्रशिक्षण दिइरहेको बताइएको छ । अमेरिकी विशेष बल (स्पेसल फोर्सेस) का २४ सैनिक र मरिनहरूले ताइवानी सेनालाई प्रशिक्षण दिएका हुन् ।

यस खुलासासँगै चीन र अमेरिकाबीचको तनाव झनै चर्किने देखिएको छ । अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले यस खबरको खुलासा गरेको हो ।

ट्रम्प प्रशासनले ती सैनिकहरूलाई ताइवान पठाएको थियो तर तिनीहरूको बारेमा जानकारी दिइएको थिएन । ताइवानकी राष्ट्रपति त्साई इङ–वनले ताइवान लोकतान्त्रिक जीवनशैली र स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै हदसम्म जान सक्ने भनेकोमा यस्तो खुलासा भएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन सूप्पलले यस खबरमाथि प्रतिक्रिया नदिने तर चीनबाट हुने जोखिमलाई विचार गरी ताइवानलाई रक्षाका लागि सहयोग गर्ने बताए । हिन्द प्रशान्त क्षेत्रका विशेषज्ञ जेकब स्टोक्सले बताए, ‘यो महत्त्वपूर्ण कदम हो तर यसले चीनलाई उक्साउन खोजेको हैन, बरू ताइवानको रक्षा क्षमतालाई बढाउने कोशिश गरेको हो ।’

चीनको परराष्ट्र मन्त्रालयले ताइवानलाई सैन्य सहयोग नगर्न अमेरिकालाई चेतावनी दिने गरेको छ । चीनले सम्प्रभुता र क्षेत्रीय एकताको रक्षाका लागि सबै आवश्यक कदम चाल्ने पनि उसले बताएको छ ।