
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो ।
राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले २५ जिल्लाको अधिवेशन हुन बाँकी रहेको बताए । उनले बाँकी जिल्लाको अधिवेशन गर्न छिट्टै अध्यक्षत्रयको बैठक बसेर निर्णय लिने बताए ।
निर्वाचन समितिका सदस्य सचिव गीताभक्त जोशीका अनुसार हालसम्म ५२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेकामा ७ जिल्लामा देखिएको केही विवाद समाधानउन्मुख रहेको बताए ।
बाँकी १८ जिल्लाको हकमा पनि पार्टीको निर्णयपछि सहमति जुटाएर चाँडोभन्दा चाँडो अधिवेशन गर्न प्रयास गरिने उनको भनाइ छ ।
राप्रपाले असोज २० गतेसम्म अधिवेशन र सक्रिय सदस्यता वितरणको विषय २५ गतेसम्म टुंगो लगाएपनि सो समयमा काम पूरा नभएकाले अब महाधिवेशन नै सर्ने निश्चित भएको एक उच्च नेताले बताए ।
सम्भवतः शनिबार अध्यक्ष कमल थापा, डा।प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबीच बैठक बसेर आवश्यक निर्णय हुने ती नेताको भनाइ छ ।
