तलब नपाएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिए

२० आश्विन २०७८, बुधबार १७:२५

काठमाडौं । म्याग्दीमा तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ बेडको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको छ ।

औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् । उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् ।

नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा शुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन् । ‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,’ उनले भनिन्, ‘अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।’

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुग‌ंगा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउँदा समस्या भएको बताए ।

बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देवी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुःखेसो व्यक्त गरिन् ।

दृष्टिविहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिई घर फर्कदा दुःख मात्र पाएको गुनासो गरे ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा नियन्त्रकको कार्यालयले अन्य दुईवटा कार्यालय समेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।