एजेन्सी ।
अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री आबी अहमदले सोमवार दोस्रोपटक पाँचवर्षीय कार्यकालको शपथ लिएका छन् ।
देशको उत्तरी भागमा रहेको टिग्रेमा एक वर्षदेखि चलिरहेको युद्ध अन्यत्र पनि र्फलिन थालेको अवस्थामा उनले शपथग्रहण गरेका हुन् । मानवअधिकार निगरानीकर्ताहरूले सरकारको दमनकारी व्यवहार पुनः शुरू गरिएको चेतावनी दिएका छन् ।
सोमवार शपथग्रहण समारोहमा एउटा फूल र नयाँ आरम्भ भन्ने शब्द सहितका चित्रहरू राजधानीमा देखिएका थिए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश मियाजा अशेनाफीले अहमदलाई शपथ दिलाएका हुन् ।
समारोहमा नाइजेरिया, सेनेगल र सोमालियाका राज्यप्रमुखहरू सहभागी थिए ।
आबी अहमदको प्रोस्पेरिटी पार्टीले गत जुन महिनामा संसदीय चुनाव जितेको थियो ।
उक्त निर्वाचनको आलोचना गरिएको थियो र कतिपय दलले त्यसको बहिष्कार गरेका थिए । तर पर्यवेक्षकहरूले अघिल्ला चुनावभन्दा यो राम्रोसँग सञ्चालन गरिएको बताएका थिए ।
युद्धग्रस्त टिग्रे क्षेत्रलाई निर्वाचनमा सहभागी गराइएको थिएन ।
आबी सन् २०१८ देखि इथियोपियाका प्रधानमन्त्री छन् । उनका पूर्ववर्ती हेलेमरियम देसालेग्नविरुद्ध व्यापक प्रदर्शन गरिएपछि राजीनामा दिएका थिए अनि सत्तारूढ दलले आबीलाई प्रधानमन्त्री बनाएको थियो ।
छिमेकी मुलुक इरिट्रियासँग सम्बन्ध सुधारेको भन्दै सन् २०१९ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
