चर्चित कम्युनिष्ट नेता कन्हैया कांग्रेसमा प्रवेश गर्नुको पछाडि यी ६ कारणहरु

१८ आश्विन २०७८, सोमबार ११:१७

(आयोखबर संवाददाता)

भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार मंगलबार कांग्रेस पार्टीमा प्रवेश गरे ।

कन्हैयाले सत्तामा रहेका केही मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएकोले यसलाई रोक्न कांग्रेस प्रवेश गरेको तर्क गरे । यसअघि कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, व्यापक चर्चाका बाबजुद पनि भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए ।

चर्चित कम्युनिष्ट नेता कन्हैया कांग्रेसमा प्रवेश गर्नुको पछाडि यी ६ कारणहरु:

१. अहिले भारतमा कम्युनिष्ट पार्टी निकै कमजोर अवस्थामा छ । कुनैबेला ६८ सिट जितेको पार्टी अहिले संघीय संसदमा केवल ४ सिटमा खुम्चिएको छ । आउने निर्वाचनमा शून्यमा हराउने सम्भावना बलियो छ । अहिले जितेको चारै सिट तामिलनाडुबाट हो । तर यो क्षेत्र कम्युनिष्ट पार्टीको आधार क्षेत्र होइन । बरु केरला, त्रिपुरा, बिहार, पश्चिम बंगाल सापेक्षित रूपमा कम्युनिष्टको आधार क्षेत्र हो । यी ठाउँमा पनि असाध्यै कमजोर भइरहेको बेला तामिलनाडुबाट भर पर्न सक्ने सम्भावना रहेन नै ।

संसदीय निर्वाचनमा उपस्थिति देखाउन सक्ने गरी अब कम्युनिष्ट पार्टीको थोरै आधार बाँकी रहेको केरलामा मात्रै हो । संघीय संसदको त कुरै छाडौं, पश्चिम बंगालमा विधानसभामै कम्युनिष्ट शून्य भए । विधानसभामा साना(साना एकाई हुन्छन् तर पनि एक सिट ल्याउन सकेन ।

त्यसैले कन्हैया कुमारलाई चुनावी राजनीतिक परिणामको पनि चिन्ता हुनसक्छ । आफ्नै जीवनकालमा पार्टीलाई ठूलो बनाएर चुनाव जित्न सक्छु भन्ने आत्मविश्वास उनमा देखिएन । जुन अस्वभाविक पनि होइन । यस्तो पार्टी जहाँ न युवाहरूको भविष्य छ, न भविष्यका लागि कुनै भिजन अर्थात् दूरदृष्टि छ, त्यहाँ बस्न कन्हैयाले इन्कार गरिदिए र कांग्रेसमा छिरे ।

२. सर्वहारा वर्गको मुक्तिका लागि संसारका सर्वहाराहरूको एकीकृत आन्दोलनको पैरवी गर्ने कम्युनिष्ट पार्टी आफैं भने विभाजनले टुक्राटुक्रा बनेको छ । नेपालमा जस्तो अवस्था छ, भारतमा पनि त्यस्तै छ । जेएनयूकी विद्यार्थी नेतृ साहिला रसिदका अनुसार भारतमा कम्युनिष्ट पार्टी ३२ वटा टुक्रामा विभक्त छन् । कन्हैया आवद्ध भारतीय कम्प्युनिष्ट पार्टी ९सीपीआई० सीपीएम जत्ति ठूलो पनि छैन ।

कम्युनिष्ट पार्टीमध्ये पहिलो ठूलो दल सीपीएम हो । तेस्रो ठूलो दल सीपीआई एमएलले धैर्यता र मिहिनेत गरेर सिट बढाउन सफल भएको छ । उसले विधानसभामा गठबन्धन गरेर १६ सिट ल्याउन सक्यो । पहिला दोस्रो ठूलो रहेको सीपीआई भने अहिले तीव्र रूपले खुम्चिँदै गइरहेको छ । सपना ठूलो तर सपनालाई विपना बनाउने साधन पार्टी भने साँघुरिँदै गइरहेको छ । कन्हैया कम्युनिष्ट बनिरहन नसक्नुको अर्को कारण यो पनि हो ।

३.कन्हैयाको राजनीतिक कद र आयतन जति बढ्दै थियो, उनले सत्तारुढ दल बीजेपी र सरकारबाट त्यति नै असुरक्षित महसुस गरे । अहिलेसम्म पनि उनले सुरक्षा खतरा महसुस गर्दै आएका छन् । त्यसैले उनी आफूलाई सुरक्षा दिनसक्ने बलियो संरक्षकको खोजीमा थिए ।

भौतिक हमलाको जोखिम त छँदैथियो, उनलाई भारत सरकारले राहदानी समेत दिएको छैन । मोदी सरकारले उनलाई विदेश जाने अनुमति पनि दिएको छैन । यसरी एउटा सानो पार्टीको शक्तिशाली नेताको आकार ग्रहण गरिरहेका उनीमाथि बीजेपीका भातृ संस्था र सरकारबाटै एकप्रकारको सुरक्षा जोखिम थियो ।

त्यसो त, बीजेपीका समर्थकहरूले कन्हैया कांग्रेस छिरेसँगै वैचारिक हमला तीव्र बनाएका छन् । ‘हर नालीका सपना होता है की एक दिन गटर में जाकर मिले,’ कन्हैया कांग्रेस छिरेपछि एक आलोचकले सामाजिक सञ्जालमा लेखेका छन् । यस्ता वैचारिकरराजनीतिक हमला त बढ्न सक्छन्, तर उनले अब भौतिक रूपमा भने यसअघि भन्दा सुरक्षा महसुस गर्नेछन् ।

साथै, उनले आफ्नो कुरा सुनाउने कार्यकर्ता र शुभचिन्तकको संख्या पनि बढाएका छन् । कुनै पनि नेताको सुरक्षा सही कार्यदिशा र विशाल कार्यकर्ता पंक्तिको सद्भावले नै गर्नसक्छ ।

४.कन्हैया एक न्यून वर्गीय परिवारका सदस्य हुन् । बिहारको एउटा सामान्य परिवारको मान्छे जेएनयुमा अध्ययनरत रहँदा चर्चाको शिखरमा पुगे । ‘एन्टी(बीजेपी’ दृष्टिकोण राख्ने नागरिक समाजको सद्भाव र सञ्चार माध्यममा स्थान पनि पाएँ । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचारहरू शक्तिशाली ढंगले राख्दै उनी करोडौंको लोकप्रिय नेता बन्न सके । तर लोकप्रियताले मात्रै दक्षिण एसियाली चरित्रको राजनीतिमा टिक्न सम्भव हुँदैन ।

भारतीय राजनीतिमा कैयौं अदृश्य विकृत पाटाहरू छन्, त्यसबाट भागेर राजनीति गर्न मुस्किल छ । निर्वाचन प्रणालीका कारण आर्थिक व्यवस्थापन कठिन काम हुने गरेको छ । जति कमजोर भए पनि भारतमा यस्ता स्रोत व्यवस्थापन गर्न सक्ने बीजेपीपछिको अर्को पार्टी कांग्रेस आई नै हो ।

बीजेपीविरोधी सेन्टिमेन्ट भएका आर्थिक(राजनीतिक शक्ति केन्द्रको सहानुभूति कांग्रेसले पाउन सक्छ । अन्य क्षेत्रीय पार्टीले आफ्नो पकड क्षेत्रमा आर्थिक व्यवस्थापन गर्लान् तर कन्हैयाका लागि संघीय रूपमै प्रभाव देखाउन सक्ने विकल्प कांग्रेस मात्रै हुनसक्थ्यो ।

५. अहिले जति कमजोर बने पनि सिंगो भारतभर फैलिएको पार्टी कांग्रेस र बीजेपी नै हुन् । भारतमा केन्द्र शासित र अर्ध स्वायत्त गरेर ३४ वटा एकाई छन् । सबै राज्यमा संगठन विस्तार भएको पार्टी बीजेपी र कांग्रेस आई मात्रै हुन् ।

कुनै एउटा प्रदेशमा मात्रै खुम्चिएर राजनीति गर्न शायद कन्हैयालाई मन लागेन । उनले सिंगो भारतको नेतृत्व गर्न सक्ने गरी क्षमता र प्रभाव विस्तार गर्ने विकल्प खोज्न थाले । यसको लागि उपयुक्त पार्टी कांग्रेस नै हुनसक्थ्यो । कांग्रेसले एकप्रकारले नेतृत्व संकटको पनि सामना गरिरहेको छ । त्यहाँ राजनीति गर्ने पर्याप्त स्पेस पनि छ ।

६.अब भारतमा विस्तारै मानिसहरूलाई कांग्रेस एक प्रगतिशील शक्ति हो भन्ने लाग्न थालेको छ । खासगरी बीजेपीले कट्टर हिन्दुवादी राजनीति अगाडि बढाएपछि भारतीयहरूलाई यस्तो लाग्न थालेको हो ।

मतदातालाई हिजो लामो समय सत्ता चलाउँदा आर्थिक विकास भएन र लोकतन्त्र सुस्त भयो भन्ने अनुभूति भएको थियो । परिवारवादको आरोप पनि कांग्रेसमाथि लाग्ने गरेको थियो । यही पृष्ठभूमिमा अन्ना हजारे र आम आद्मी पार्टीहरू सतहमा आउन सके । ‘एन्टी कांग्रेस’ आन्दोलनहरू नै भए । यसको फाइदा बीजेपीलाई पनि गयो ।