
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार नकाट्ने भएको छ । शनिबारबाट प्राधिकरणले देशका विभिन्न स्थानमा तत्काल पोलको भाडा नतिर्ने इन्टरनेट र केबुल टेलिभिजनको तार काट्न शुरु गरेको थियो । तर, तार काट्दा उपभोक्ता प्रभावित हुने देखिएको भन्दै प्राधिकरणले तत्कालका लागि तार काट्न रोकेको हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार सांकेतिक रुपमा तार काटेपनि उपभोक्तालाई परेको मर्कालाई ध्यानमा राखेर तत्काल थप तार नकाटिने बताए । आफूहरु समाजिक उत्तरदायित्व समेत बोकेको संस्था भएकाले उपभोक्तालाई असर नपर्ने गरी बक्यौता उठाउन थप कदम चाल्ने उनको भनाइ छ ।
‘५(६ वर्षदेखि प्राधिकरणको पोलमा तार र स्विचबक्स झुण्डाएका धेरै कम्पनीले भाडा तिरेका छैनन्,’ उनले भने,’यो बक्यौता तिर्नु उहाँहरुको कर्तब्य हो, बाहनाबाजी गरेर हुँदैन ।’
प्राधिकरणले कम्पनीहरुलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ । दैनिक रुपमा सूचनाहरु प्रकाशित गरेर प्राधिकरणका वितरण केन्द्रहरुले पोल भाडा तिर्न आग्रह गरिरहेका छन् ।
तर, इन्टरनेट सेवा प्रदायक र टेलिभिजन सेवा वितरकहरु ठूलो मात्रा भाडादर तोकिएको भन्दै नतिर्ने अडानमा छन् ।
आम उपभोक्तासँग पोल भाडाका लागि हुने खर्चअनुसार इन्टरनेटको मूल्य लिइएको भन्दै प्राधिकरणले सो रकम नतिरी आफैंले राखेका कम्पनीहरुविरुद्ध कानुनी हिसावले अघि बढ्ने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पनि इन्टरनेट सेवाको उपभोक्ता भएको र शुल्क नर्तिदा इन्टरनेट कम्पनीले एक दिन पनि कुर्ने नगरेको बताउँछन् ।
‘भाडा तिर्न एक सेकेन्ड ढिला हुँदा लाइन काट्ने कम्पनीहरुले राज्यको करोडौं रुपैयाँ बक्यौता नतिर्ने कुरा स्वीकारयोग्य हुँदैन,’ उनले भने,’हामीले पोल भाडा उपभोक्तासँग मागेका हैनौं, सेवा प्रदायकसँग मागेका हौं, उपभोक्तालाई मूल्यवृद्धिको धम्की दिएर बक्यौता तिर्नबाट जोगिन खोज्नु बदनियतपूर्ण छ ।’ पोल भाडाका लागि उपभोक्ताबाट उठाएको रकम समेत राख्नु न्यायसंगत नभएको घिसिङको भनाइ छ ।
उनले नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरेर बक्यौता उठाउन अरु कानुनी बाटोबाट अघि बढ्ने बताए । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजस्व तिर्ने आफ्नो उत्तरदायित्वबाट पन्छिएको भन्दै घिसिङले इन्टरनेट कम्पनीलाई छूट दिन नसकिने बताए ।
