स्पेनमा बन्ने लुम्बिनी गार्डेनबारे राष्ट्रपती भण्डारीको चासो

१७ आश्विन २०७८, आईतवार १६:३०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिविधिबारे चासो व्यक्त गरेकी छिन्। स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस सहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो व्यक्त गरेकी हुन्।

लुम्बिनी गार्डेन फाउन्डेसनका पदाधिकारीहरुले बिहीबार शीतलनिवासमा भेटवार्ता गर्दै फाउन्डेसनका गतिविधिबारे राष्ट्रपति समक्ष जानकारी गराएका थिए । लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको छ।

राष्ट्रपतिसँगको भेटवार्ताबारे जानकारी गराउँदै फाउन्डेसनका महासचिव एकराज गिरीले भेटवार्तापछि थप सकारात्मक उर्जा प्रदान भएको बताए ।

‘फाउन्डेसनले नेपाल र विशेष गरी लुम्बिनीको सेरोफेरोमा गर्न खोजेका कामहरु लगायत विविध गतिविधिबारेमा राष्ट्रपतिलाई जानकारी दियौं । उहाँले नेपालका लागि काम गरेकोमा खुशी व्यक्त गर्दै फाउन्डेसनलाई धन्यवाद दिनुभयो,’ महासचिव गिरीले भने। बुद्वको शान्ति सन्देशलाई संसारभर फैलाउने फाउन्डेसनको अभियानलाई राष्ट्रपतिले मुक्तकण्ठले प्रंशसा गरेको उनले बताए।

राष्ट्रपतिसँग भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सुर्य पाठक,फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा,उपाध्यक्ष गोविन्द सुबेदीलगायतको उपस्थिति रहेको थियो।

 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको अनावरणका लागि राष्ट्रपति भण्डारीलाई फाउन्डेसनले निमन्त्रणा दिएको छ। फाउन्डेसनले म्यानमानमा बनेको करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कात्तिक १४ मा अनावरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुबेदीका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता पोर्टमा आइपुगेको उनले जानकारी दिए।

‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले लुम्बिनी फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो । उक्त बुद्धमूर्ति सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले आयोखबरलाई भने।