केनले २० मिनेटको अन्तरमा ह्याट्रिक गरेसँगै शानदार जीत

१५ आश्विन २०७८, शुक्रबार १५:१०

काठमाडौं । सब्सिटट्यूटका रूपमा मैदान प्रवेश गर्दै ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्सले युरोपा कनफरेन्स लिगमा एनएस मुरामाथि ५–१ को शानदार जीत हासिल गरेको छ । समूह जीमा रहेको स्पर्सको प्रतियोगितामा पहिलो जीत हो । पहिलो खेलमा टोली रेनेसँग बराबरीमा रोकिएको थियो ।

बिहीबार राति भएको खेलमा स्पर्सले पहिलो हाफको सुरुवातमा दुई गोल गर्दै स्लोभेनियाको टोलीमाथि दबाब राखेको थियो । डेली अलीले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाएका थिए भने गियोभानी लो सेल्सोले ६ मिनेटपछि अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफमो सुरुवातमा नै जिगा कुओसको गोलमार्फत एनएस मुरा खेलमा फर्कन प्रयास गर्‍यो । त्यसपछि ६० औँ मिनेटमा म्यानेजर नुनो एस्पीरितो सान्तोले मैदानमा केन, सन ह्युङ मिन र लुकास मोउरालाई मैदानमा पठाएका थिए ।

सब्सिटिट्यूटहरुले खेलमा प्रभाव पार्न लामो समय नै लागेन । ६८ औँ मिनेटमा मोउराको पसमा केनले खेलको पहिलो गोल गरे भने सनले केनका लागि दोस्रो गोलको अवसर सिर्जना गरे । ८८ औँ मिनेटमा अर्को गोल थप्दै केनले करियरको १६ औँ ह्याट्रिक पुरा गरे ।