
काठमाडौं । चाडबाड नजिकिँदै गर्दा तरकारीको मूल्य ह्वात्तै बढेको छ । हरेक वर्ष झैँ यसपाली पनि चाडबाडको मुखमा तरकारीको भाउ उकालो लागेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनायता तरकारीको मूल्य बढिरहेको छ ।
भदौ १३ गते प्रतिकिलो २० रुपैयाँ थोक मूल्य रहेको तीते करेलाको मूल्य आज (बुधबार) ९५ रुपैयाँ पुगेको छ ।
यस्तै, सोही मितिमा प्रतिकिलो २० रुपैयाँका दरले किनबेच भएको लौकाको मूल्य अहिले ७५ रुपैयाँ पुगेको छ । समितिका निर्देशक विनय श्रेष्ठले पछिल्लो एक महिनायता तरकारीको मूल्य बढ्न थालेको बताए । उनले आयोखबरसँग भने, ‘पछिल्लो समय तीते करेला, लौका, घिरौंला र साग लगायतको मूल्य पनि बढेको छ । तर, यो अवधिमा केही तरकारीको मूल्य भने घटेको छ ।’
उनका अनुसार खासगरी उत्पादन सिजन सकिएका तरकारीको मूल्य केही महँगो भएको छ ।
निषेधाज्ञा हटेकाले यतिखेर होटलः रेष्टुराँ र क्यान्टिन लगायत खुल्दा पनि बजारमा तरकारीको माग बढेको छ । माग बढेको, तर आपूर्ति पर्याप्त नभएकाले पनि मूल्य उकालो लागेको समितिले जानकारी दिएको छ ।
हाल कालिमाटीबाट बजारमा दैनिक ७५० टन तरकारी खपत हुँदै आएको छ । यसमध्ये ६५ प्रतिशत उत्पादन स्वदेशकै हो भने भारतबाट ३५ प्रतिशत आउँछ ।
खासगरी, पछिल्लो समय भारतबाट सकेको प्याज, आलू, गोलभेँडा र फलफूल आयात हुने गरेको निर्देशक श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
