लोसपाबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्ने तयारी

१४ आश्विन २०७८, बिहीबार १३:०५

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।

नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई पार्टीमा भित्र्याउने तयारी भइरहेको छ ।’

लेखीले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै लोसपा नेपालबाट राजीनामा दिएका हुन् । जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने र पुराना पार्टीभन्दा पनि खराब अवस्थामा पुगेपछि राजीनामा दिनुपरेको आयोदबरलाई बताए ।

उनले अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने रातोपाटीलाई जानकारी दिए । एमालेको नाम नखुलाइ उनले रातोपाटीसँग भने, ‘लोसपा नेपालबाट राजीनामा दिएँ, अब कुन दलमा जाने भन्नेबारेमा छलफल गरिरहेको छु ।’