सिभिल अस्पतालका नर्सको सेवासुविधामा वृद्धि

१३ आश्विन २०७८, बुधबार १७:०५

काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालले एकतर्फी रुपमा सेवा सुविधा र करार कार्यविधि ल्याएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । डक्टर्स एसोसिएशन अफ सिभिल हस्पिटलले हालको सेवा सुविधालाई परिमार्जन गर्न अस्पतालसँग माग गरेको छ । तर, आर्थिक वर्ष ०७८र०८९ को साउन महिनाबाट लागू हुने गरी अस्पताल बोर्डले ल्याएको सेवा सुविधा तथा तलबबारे स्टार्फ नर्सहरुले भने सन्तुष्टि जनाएका छन् ।

विगत १२ वर्षदेखि न्यूनतम् पारिश्रमिकभन्दा ३० प्रतिशत कममा श्रम बेच्न बाध्य भएका नर्सहरुको मुहारमा नयाँ सेवा सुविधासम्बन्धी व्यवस्थाले खुशी छाएको छ । विगत पाँच वर्षदेखि सिभिल अस्पतालमा कार्यरत नर्स मिना ढकालले न्यूनतम पारिश्रमिकबिना बिरामीकोे सेवा गरेको सुनाइन् ।

ढकालले भनिन्, ‘बिरामीको सेवा गर्ने रहरले नै नर्स पेसा त रोजेँ । अस्पतालसँग न्यूनतम पारिश्रमिकका लागि बारम्बार आवाज उठाउँदा समेत सुनुवाइ भएन, काम गरेअनुसार तलब नपाउँदा निरास थिएँ, असारबाट अस्पतालले ल्याएको सेवा सुविधाप्रति ममात्रै नभएर सबै नर्स खुशी भएका छौँ ।’

यस्तै, विगत १२ वर्षदेखि सिनियर नर्सका रुपमा सिभिल अस्पतालमै काम गर्दै आएकी बिना प्रजापति ९नाम परिवर्तन०ले कामको दायरा पनि बढाउने, पोष्ट पनि बढाउने तर, तलबचाहिँ नबढाउने प्रवृत्ति अस्पतालमा नयाँ निर्देशक आएपछि अन्त्य भएको र आफूहरुको माग सम्बोधन भएको सुनाइन् ।

‘करिब १२ वर्षदेखि सरकारले तोकेको न्यूनतम् पारिश्रमिक माग गर्दै आएका थियौं, यस भन्दाअघि पटकपटक अस्पतालसँग कुरा राख्दा कार्यान्वयन गर्छौं भन्नेमात्रै, व्यवहारमा लागू भएन,’ उनले भनिन् ।

सिभिल अस्पतालमा कार्यरत नर्सले तहका आधारमा न्यूनतम् पारिश्रमिकसँगै ५० प्रतिशत भत्ता गत आर्थिक साउनबाट पाउन थालेको अस्पताल प्रसाशनका एक उच्च अधिकारीले बताए ।

कोरोना महामारीका बेला केही अस्पतालले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत नदिएको अवस्था छ । सिभिल अस्पतालले तहका आधारमा न्यूनतम् पारिश्रमिकसँगै ५० प्रतिशत भत्ता र कोभिड भत्तासमेत कोभिड बिरामीको उपचारमा संलग्नलाई स्वास्थ्य मन्त्रालयले बजेट पठाएकोमा सो भत्ता पनि नर्सहरुलाई उपलब्ध गराएको ती अधिकारीले सुनाए ।

सिभिल अस्पतालमा १४ वर्षदेखि नर्सको रुपमा कार्यरत विद्या नेपाल ९नाम परिवर्तन०ले नयाँ व्यवस्थापनले नर्सहरुको पीडा बुझिदिएको भन्दै काम गर्ने ऊर्जा थपिएको सुनाइन् । पाँचौं तहको स्वास्थ्यकर्मी भए पनि कामचाहिँ आठौं तहको गरिरहेको उनले सुनाइन् ।

गत साउन यता वरिष्ठ वा सो सरहका नर्सले न्यूनतम् पारिश्रमिक र भत्तासहित ४५ हजार पाइरहेको अस्पताल प्रसाशनका ती अधिकारीले बताए । योसँगै चाडपर्व खर्च र पोशाक खर्च वर्षको एक पटक, मासिक रुपमा महँगी भत्ता उपलब्ध गराउँदै आएको उनले बताए ।