कपडा प्याकिङ गर्न भन्दै चीन गएका चार युवा २२ दिन थुनिए

१४ पुष २०७३, बिहीबार ०८:३४

अछामका नवराज साउद लाखौं रकम बुझाएर रोजगारीका लागि गत चैतमा चीन उडे ।

भिजिट भिसामा गएपनि त्यहाँ पुगेपछि वर्किङ भिसा लगाइदिने र कपडा कम्पनीमा प्याकिङको काम पाउने आश्वासनमा उनले शान्तिनगरस्थित जम्प टु जम्प कन्सलटेन्सीमा ९ लाख ८ हजार बुझाएका थिए ।

उनी चीन त पुगे तर, न वर्किङ भिसा पाए न कपडा कम्पनीमा काम नै । भिजिट भिसा सकिएपछि चिनियाँ प्रहरीले पक्राउ पर्‍यो र २२ दिन थुनिए ।

उनले आफन्तलाई खबर गरेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिए । प्रहरीको पहलमा पक्राउ परेको २२ दिनपछि प्रहरीले बेइजिङस्थित नेपाली दूताबासको जिम्मा लगायो । र, उनी केही महिना अघि नेपाल फर्किए ।

उनी जस्तै भोजपुरका राजु भारती, मोरङका अर्जुन गिरी र धादिङका सन्तोष ढकाल मिलेर १४ लाख ६० तिरेर चीन पुगेका थिए । तर, भिजिट भिसा सकिएपछि प्रहरीले पक्राउ गर्‍यो । नेपाल प्रहरीको पहलमा उद्धार गरिएको छ ।

दुबै ठगीमा संलग्न भएको आरोपमा प्रहरीले जम्प टु जम्प कन्सलटेन्सीका सञ्चालक गोपाल भन्ने सोमनाथ शिवाकोटीलाई पक्राउ गरेको छ । सोमबार सिनामंगलबाट पक्राउ परेका उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रहरीको अनुसन्धानका क्रममा जम्प टु जम्प कन्सलटेन्सी दर्ता समेत नगरी गैरकानूनी रुपमा विदेश पठाउने कार्य गरेको देखिन आएको छ । यसबारे अनुसन्धान जारी छ ।