नेपाल रेडक्रसद्वारा एक लाख मात्रा खोप प्रदान

१२ आश्विन २०७८, मंगलवार १६:५६

 

 

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारिले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरे । सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई सङ्क्षिप्त जानकारी दिएका थिए । राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पु¥याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गरे ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको कोरोनाको खोप लगाइसकिएको छ । हालसम्म ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् भने रुकुम पूर्व, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यसैगरी खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

सरकारकारले अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने जनाएको छ । यसका लागि दुई मात्रा खोप लगाउँदा पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक पर्छ ।