केयूकेएलका कर्मचारीले सीईओलाई कार्यालय प्रवेशमा लगाए रोक

१२ आश्विन २०७८, मंगलवार १३:३४

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद् र काठमाडौ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघ सम्बद्ध कर्मचारीले कार्यालय परिसरमा दैनिक धर्ना दिइरहेका छन् ।

मेलम्चीको पानी आएपछि कम्पनीको सञ्चालन खर्च बढ्ने भएकाले महसुल दर पुनरावलकोनको प्रक्रिया अघि बढाउनुपर्ने कर्मचारीहरुको माग छ ।

उनीहरुले कम्पनीको वाषिर्क साधारण सभा गर्न, साधारण सेयर (आईपीओ) जारी गर्न, स्वतन्त्र सञ्चालक नियुक्त गर्न लागायतका माग राख्दै आन्दोलन थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकालले जानकारी दिए ।