सुविधासम्पन्न पुस्तकालय भवन निर्माण

१० आश्विन २०७८, आईतवार १७:०३


काठमाडौं । गुल्मी सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ । पुरानो किरण पुस्ताकालयको नयाँ र प्रविधिमैत्री सुविधासम्पन्न पुस्ताकालय भवन बनेको हो ।

तम्घासमा २०२५ सालमा स्थानीयका घरबाट श्रुति, स्मृति, पुराण, कर्मकाण्डका केही पुस्तक संकलन गरी उक्त पुस्तकालयको शुभारम्भ गरिएको थियो ।

जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको पुस्तकालयलाई आधुनिक कम्प्युटर राखेर प्रविधिमैत्री बनाइएको पुस्तकालयका सचिव चनक कुँवरले जानकारी दिए । समयानुकूल पुस्तकालयलाई अन्य प्रविधिसँग पनि जोड्ने उनले बताए ।

पुनर्निर्माण प्राधिकरणको ३ करोड ४२ लाख रुपैयाँको लागतमा ४ तले आधुनिक पुस्तकालय भवनको सुनिल समिर बाँसुरी जेभीले निर्माणको काम गरेको हो ।

पुस्तकालयमा हाल नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी लगायतका भाषाका करीब १० हजार पुस्तक संग्रहित छन् ।