प्रधानमन्त्री देउवाको गृहजिल्लामा कम उमेरका जोशी नगर सभापतिमा विजयी

१० आश्विन २०७८, आईतवार ०७:५२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए । उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भए ।

सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुन् । डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । नगरपालिका सभापतिमा विजयी जोशीले चीनबाट स्नात्तकोत्तर अध्ययन पूरा गरेका छन् । उनी पछिल्लो डेढ वर्षदेखि गृहनगरमै बसेर सामाजिक कार्यमा सक्रिय थिए ।
वडाअधिवेशन सम्पन्न भएका ५० भन्दा बढी जिल्लामा शनिबार पालिका अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा वडा अधिवेशन नै अनिश्चित बनेको हो ।

कांग्रेसले हिमाली क्षेत्रमा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने र बाँकी जिल्लामा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौं हुने कार्यतालिका छ । तर हिमाली जिल्लाबाहेकका जिल्लामा दशैंपछि मात्रै अधिवेशनका कार्यक्रम गर्ने कांग्रेसको निर्णयले केन्द्रीय महाधिवेशन पर धकेलिने नेताहरु बताउँछन् । (अनलाइनखबर)

यसैबीच, सुन्दरहरैँचा ्र मोरङको सुन्दरहरैँचा नगरपालिका भित्रबाट अहिलेसम्मकै कान्छा उम्मेद्वार क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका छन्। सुन्दरहरैँचा ५ मा नेपाली कांग्रेसको वडा अधिबेशनबाट निश्चल घिमिरे क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका हुन्।

२२ बर्षीय घिमिरे कोईराला समुहबाट निर्वाचित भएका हुन्। शेखर कोईरालाको निर्वाचन क्षेत्रका रुपमा परिचित मोरङ्ग क्षेत्र नम्बर ६मा सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ५ पनि पर्दछ।