नेपाल प्रहरी प्रमुख डीआईजीको नाममा पैसा उठाउने महिला रौतहटमा पक्राउ

७ आश्विन २०७८, बिहीबार १५:५५


काठमाडौं । प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुशीला थापा रहेकी छिन् ।

थापालाई सर्लाही प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन् ।

शिक्षिका सुशीला थापाले डीआईजी उमेश रञ्जीतकारको नाम बदनाम गराउने काम गर्दै हिँडेकाले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाउने तयारी भइरहेको एसपी घिमिरेले बताएका छन् । यसैबीच डीआईजी घिमिरे गरुडा पुगेर पक्राउ परेकी महिला र एसपी घिमिरेसँग घटनाको वास्तविकताबारे बुझेका छन् ।

गरुडास्थित प्रहरी विद्यालयमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै थापाले पर्सामा एक जना उदेश पाण्डेसँग ६ लाख रुपैयाँको बार्गेनिङ गरेको अडियो केही दिन अघि सार्वजनिक भएको थियो ।

पाण्डेले जागिर नपाएको रिसमा महिला शिक्षिका सुशीला थापालाई सिकाएर मलाई बदनाम गराउने षड्यन्त्र गरेको डीआईजी उमेश रञ्जीतकारले बताएका छन् । प्रहरी विद्यालयको अध्यक्ष जिल्लाकै एसपी हुने र आरोपी महिलासँग आफ्नो चिनजानसमेत नरहेको डीआईजी रन्जित्कारले गुनासो गरेका छन् ।