
कपिलवस्तु । कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले मनोसामाजिक समस्या भएका बालबालिकालाई सहयोग गर्ने प्रतिबद्ध जनाएका छन् ।
कपिलवस्तु र रुपन्देहीका २२ जना सहजकर्ताको सहभागिता रहेको बालविकास तथा शिक्षा सिकाई केन्द्रका सहजकर्ताका लागि मनोसामाजिक सहयोग, लैङ्गिक हिंसा तथा बाल संरक्षण सम्बन्धि तीन दिवसीय तालिमका सहभागी सहजकर्ताले प्रतिबद्धता गरेका हुन् ।
युनिसेफ नेपालको प्रविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा इँटा उद्योगका सहजकर्ताका लागि तालिम आयोजना गरिएको छ । तालिममा सहभागी सहजकर्ताले बालबालिका र अभिभावकलाई मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण र लैङ्गिक हिंसा बारे सचेत नगराईएकै कारण बालबालिका जोखिममा पर्ने गरेको बताए ।
तालिममा सिकेका सूचना, जानकारी, व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको सहजकर्ता लिलादेवीको बुझाई छ । तालिममा मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण, लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन, घटना व्यवस्थापन र सहयोग प्रणाली स्थापना लगायतका बिषयवस्तुमा मनोविमर्शकर्ता शान्ति पण्डितले सहजीकरण गरेकाी थिइन् ।
समापन सत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे तथा कार्यक्रम अधिकृत अजय चौधरीले कार्यक्रमको सफलता र कार्यान्वनबारे शुभकामना मन्तव्य राखेका थिए ।
