परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त, एक बजे शपथ

६ आश्विन २०७८, बुधबार १२:१७

काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने,“परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको उनले बताए ।

परराष्ट्रमन्त्रीमा नियुक्त डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले एक बजे शपथको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।