लुम्बिनी वर्ल्ड पिस फोरमले मनायो विश्व शान्ति दिवस

५ आश्विन २०७८, मंगलवार २३:४८

काठमाडौं । आज सेप्टेम्बर २१ अर्थात् विश्व शान्ति दिवस । अन्तराष्ट्रिय शान्ति दिवस २०२१ को अवसरमा “लुम्बिनी वर्ल्ड पिस फोरम”ले काठमाडौं स्थित माइतीघर मण्डलामा विश्व शान्ति झल्कने मण्डला बनाउनुका साथै शान्ति दिप प्रज्वलन गरेर “अन्तराष्ट्रिय शान्ति दिवस” मनाएको हो ।

रोटरी क्लब अफ काठमाडौं कलंकीकी प्रेसिडेन्ट दुर्गा देवी मैनाली प्रमुख अतिथी, वान पिस वर्ल्डका अध्यक्ष सबिन लामिछाने, काठमाडौं जेसिसका अध्यक्ष कैलाश श्रेष्ठ, वार्मिङ हर्ट्स नेपालका अध्यक्ष अनामिका अर्याल, हन्ड्रेड ग्रुपुका अध्यक्ष बब्लु गुप्ता, रोटरी क्लब अफ काठमाडौं कलंकीका पूर्व प्रेसिडेन्ट सुलोचना सिग्देल अतिथीको रुपमा उपस्थित थिए ।

उक्त कार्यक्रममा उपस्थित सहभागिहरुले साँझपख दिप प्रज्वलन गरेर विश्व शान्तिको कामना गरेका थिए । सो कार्यक्रममा चार जना चित्रकारहरुलाई बुद्धको मुर्ती प्रदान गरी सम्मान समेत गरिएको थियो । आयोजक “लुम्बिनी वर्ल्ड पिस फोरम” का अध्यक्ष बासु गौतमले कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्तती बालेर अन्तराष्ट्रिय शान्ति दिवस मनाएको बताए ।

प्रमुख अतिथि मैनालीले विश्वमा शान्ति भयो भने मात्रै सबैलाई शान्ति मिल्ने र रोटरी क्लबले सँधै विश्व शान्तिको कामना गर्ने कुरा बताइन । त्यसैगरी कार्यक्रममा बोल्दै विश्व शान्तिको लागि आजका युवाहरुले उल्लेखनिय भूमिका निभाउन जरुरी भएको कुरा  “वान पिस वर्ल्ड”का अध्यक्ष सबिन लामिछानेले बताए ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवसका रुपमा मनाइने गरिन्छ। यस दिन युद्धरत अवस्थामासमेत यस दिनको लागि युद्धलाई रोक्ने गर्छन; युद्धरत देशहरु ।