
एजेन्सी
अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटसँग कुराकानी गर्ने क्रममा अमेरिकाका राष्ट्रपति जो बाइडन निदाएको इजरायलका पूर्व प्रधानमन्त्री बेनजामिन नेतान्याहुले बताएका छन् ।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो क्लिपमा बाइडन ओभल अफिसमा बेनेटसँग कुरा गर्दै गर्दा टाउको तलतिर पारेर सुतेको देखिन्छ ।
हुन त बाइडन जागै थिए तर उनी जागेको भाग भिडियोबाट काटिएको थियो । त्यसले गर्दा भिडियो क्लिप हेर्नेहरूले बाइडन बूढो भएकाले झपक्क निदाएका हुुन् कि भन्ठाने ।
नेतान्याहुले आइतवार फेसबूक पेजमा पोस्ट गरेको भिडियोमा स्वर सुनिन्छ, ‘बेनेटले बाइडनलाई भेटे है । मैले सुनें । बाइडन यस बैठकमा अत्यन्तै सतर्क थिए भन्ने मैले सुनें । उनले सहमतिमा टाउको पनि झुकाए ।’
त्यसो भन्दै नेतान्याहुले निदाउनका लागि टाउको झुकाएको अभिनय गरे ।
नेतान्याहुको आलोचना भएपछि उनको लिकुड पार्टीले बाइडनलाई नभई बेनेटलाई नेतान्याहुले व्यंग्य गरेको भन्दै स्पष्टीकरण दियो ।
