टुंगिने भयो नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद 

४ आश्विन २०७८, सोमबार ११:२३

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ ।

२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो ।  यद्यपि रसुवाको क्रियाशील सदस्यता विवाद भने सल्टिन बाँकी छ ।

तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ ।

प्रदेश २

प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन । सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाका अनुसार बाराबाहेक सबै सातवटै जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ ।

बाराको विवाद मिलिसकेको छ, र सोमबारसम्म क्रियाशील सदस्यको नाम वेवसाइटमा इन्ट्री गरेर पनि सकिने उनले बताए । ‘सदस्यतामा विवाद पहिल्यै सकिएको हो, तर कार्यान्वयनमा केही विवाद थियो । अब हामीले त्यो पनि सल्टाएका छौं,’ उनले भने, ‘बारामा पनि कुरा मिलिसक्यो । भोलि सबै साथीहरुलाई बोलाएर सदस्यता इन्ट्री गर्छौं ।’

कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।