
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको उछितो काढेका छन् । आइतबार पार्टीले संविधान दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारको विपक्षमा खोइरो खन्ने पत्रकारहरुलाई पदक बाँडिएको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने सञ्चारमाध्यम र तिनका साहुहरू ठूल्ठूला पदकहरूले सम्मानित भए । कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मानित गरेको भए हुन्थ्यो नि ।’
उनले अधिवक्ता तथा न्यायाधीशहरूलाई समेत कटाक्ष गर्दै भने, ‘झगडियाहरु सम्मानित, मुद्धा हाल्ने सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरू सम्मानित । दुई चार जना छुटेको जस्तो लाग्यो नाम भन्दिनँ । तिनलाई किन छोडेको होलाः मुद्धा हराइदिने, जिताइदिने, तराजु कोल्टे फर्काइदिनेहरुलाई पदक । तराजुपनि गजव रहेछ । आँखामा पट्टी बाँध्ने श्रीमानहरूले तराजु कता ढल्किएको छ त्यो त थाहा हुन्छ नि । हात त बाँधेको हुँदैन । कतापट्टि के फैसला गरिदिनुपर्ने छ, कतातिर के फैसला गरिदिनुपर्ने छ । म धेरै भनिरहन चाहन्न । धेरैका लागि यो लज्जाजनक विषय हो । इतिहासले यसको निर्मम मूल्याङ्कन गर्नेछ ।’
