मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु ल्याइयो

३ आश्विन २०७८, आईतवार १५:०८

काठमान्डौँ । मलेसियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार) नेपाल ल्याइएको हो।
६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरूले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए।

कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन।
विदेशमा मृत्यु भएकाहरूको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्‍याउने गर्दै आएको छ।