नेताको हत्यामा संलग्न भएको आरोपमा ९ जनालाई मृत्युदण्ड

३ आश्विन २०७८, आईतवार १५:०७


एजेन्सी
साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले शनिबार नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ ।

हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो ।

विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती नौ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली प्रहार गरी मृत्युदण्ड दिइएको जनाएको छ । उनीहरू हुथी समूहको एक अदालतले हुथी नेता सामदको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्ये हुन् ।

हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि उनीहरूको अनुपस्थितिमा नै अदालतले मुद्दा चलाएको थियो । उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको साबा न्यूजले उल्लेख गरेको छ ।

साबा न्यूजले भनेको छ, “आम अभियोक्ताले समादको हत्यामा संलग्न नौ जनालाई मृत्युदण्ड दिएकोे छ । उनीहरूलाई वरिष्ठ हुथी नेताहरू र सानाका बासिन्दाहरूको उपस्थितिमा तहरिर चोकमा गोली हानी हत्या गरिएको छ ।”

अप्रिल २०१८ मा यमेनको पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो । साउदी अरबले उक्त हवाई हमला गरेको पुष्टि गरेको थियो ।