स्क्रब टाइफसले ज्यान जान सक्छ

३१ भाद्र २०७८, बिहीबार १६:१७


काठमाडौँ । ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ती युवामा ‘स्क्रब टाइफस’ भएको प्रमाणित भयो ।

कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना सङ्क्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।

मुसाको रगत चुसेर बाँच्ने सूक्ष्म किरा ‘माइट’ परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्ने उनी बताउँछन् । नेपालमा २०७२ वैशाखको विनाशकारी भूकम्पपछि यो रोग देखिन थालेको हो ।

सन् २०१९ मा आठ महिनाको अवधिमा ५५५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको थियो भने ३ जनाको मृत्यु भएको थियो ।

हाल देशका विभिन्न भागमा स्क्रब टाइफसका बिरामी देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।