हाइटीमा राष्ट्रपतिको हत्या, शंका प्रधानमन्त्रीमाथी

३० भाद्र २०७८, बुधबार १३:४९

 

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरी राष्ट्रपति जोभेनेल मोइसेको हत्याको मामिलामा मुछिएका छन् ।
यो घटनाबारे अनुसन्धानको लागि उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

अभियोजक पक्षले हेनरीमाथि आरोप लगाउनुपर्ने माग गरेको छ ।
साथै उनीहरुले हेनरीले मोइसेको हत्याका मुख्य संदिग्ध जोसेफ फेलिक्ससँगको सम्बन्धबारे पनि स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

अभियोजन पक्षका अनुसार रेकर्डले राष्ट्रपतिको हत्या भएको केही घण्टामा नै उनीहरुले एकअर्कालाई फोन गरेका थिए । राष्ट्रपति जोभेनेल मोइसेको गत जुलाई ७ मा आफ्नै घरमा आक्रमणकारीले छिरेर आक्रमण गरेका थिए ।

राष्ट्रपतिको हत्या गर्ने आक्रमणकारी ‘विदेशी र अंग्रेजी तथा स्पेनिस भाषामा कुरा गरिरहेको’ बताइएको छ ।
अहिलेसम्म प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा ४४ जनालाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार राष्ट्रपतिको शरीरमा १२ गोली लागेको थियो । उनले टाउको, कन्चट, पेट र ढाडमा उक्त गोली लागेको पाइएको थियो ।

उनको हत्या भएसँगै अहिले हाइटीमा राजनीतिक संकट देखिएको छ । गत महिना हाइटीको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पको कारण जनजीवन थप अस्तव्यस्त बनेको छ ।