मापसे परीक्षण गर्दा प्रहरीलाई दुर्व्यवहार गर्ने पक्राउ

२९ भाद्र २०७८, मंगलवार १४:५१

 

काठमाडौं । ‘दुर्व्यवहार गरेको’ आरोपमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ४२ वर्षीय सोमनाथ अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा।९ च २७६३ नम्बरको कारमा सवार अधिकारीलाई चेकजाँच गर्न खोज्दा उनले प्रहरीसँग विवाद गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरीको संयुक्त टिमसँग विवाद गरेर उनले मापसे परीक्षण गर्ने ब्रेथलाइजर फुटाएको बताइएको छ । अधिकारीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।