
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ ।
केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए बमोजिम जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नविकरण नगरेको, परिमार्जित भाडा दर भुक्तानी गर्न अनाकानी, वक्यौता नतिरेको जनाउँदै प्राधिकरणले सार्वजनिक सूचनामार्फत तत्काल सम्झौता गर्न आग्रह गरेको हो ।
१५ असोजभित्र सम्झौता गर्न नआउने सेवा प्रदायकले प्राधिकरणको पोलमा जडान गरेको तार, अप्टिकल फाइबर तथा अन्य उपकरणहरु जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेबार सम्बन्धित सेवा प्रदायक नै हुने छ ।
प्राधिकरणको संरचना प्रयोग गरी आफ्नो सेवा विस्तार गर्दै उपभोक्ताबाट महशुल उठाउने गरेका छन् । तर,केही सेवा प्रदायकहरुले संरचना प्रयोग गरेबापतको भाडा तिर्न अस्विकार गर्दै आएका छन् । यसका कारण प्राधिकरणले आफ्नो आम्दानी गुमाइरहेको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मंगलबार सूचना जारी गर्दै नियमअनुसार सम्झौता गर्न, नविकरण गर्न र हालसम्मको बाँकी बक्यौता रहेको भाडादर भुक्तानी गरिदिन सेवा प्रदायकहरुलाई पुनः आग्रह गरेको छ । सेवा प्रदायकहरुले प्राधिकरणका कारण इन्टरनेट सेवा बन्द हुन लागेको भन्दै उपभोक्तालाई त्रास देखाइरहेका छन् ।
सेवा प्रदायकहरुले प्राधिकरणको देशभरी रहेको विद्युत वितरण पोलहरु, प्रसारण लाइनका टावररपोल प्रयोग गरी र प्रसारण लाइन टावरमा जडित अप्टिकल फाइबर भाडामा लिई सहरदेखि दुर्गम गाउँसम्म इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन विस्तार गर्दे आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउँदै आएका छन् ।
