
काठमाडौं । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो ।
नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल राखिने छ ।
भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ । सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन् । उनले भने, “बेरोजगार रहेका मजदूरलाई काम दिइने छ भने सौराहा किनार आकर्षक बन्ने छ ।” प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट रु ९० लाख र पर्यटन बोर्डबाट रु ६० लाख बजेट निकासा भएको छ । यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । सो क्षेत्रमा रहेको सङ्ग्रहालयलाई पनि स्तरीय बनाइने छ ।
