
काठमाडौं । तिब्बतबाट च्यांग्रा नआउँदा यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ । मुस्ताङमै च्यांग्रा नपाइएपछि यो वर्षको दशैंमा सहुलियतमा खसीबोका मात्रै बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
१४ सय च्यांग्रा सहुलियतमा बिक्री गर्ने कम्पनीको योजना पूरा नहुने देखिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए । ‘१६ सय खसीबोका र १४ सय च्यांग्रा किन्न बजेट बिनियोजन गरे पनि च्यांग्रा पाइएन,’ उनले भने,‘ मुस्ताङको भने पनि यस अघि तिब्बतबाट नेपालतर्फ चर्न आउने च्यांग्रा खरिद भएर नेपाल आउने रहेछ तर कोभिडका कारण यस पर्ष पनि च्यांग्रा आएनन् ।’
कोरोना महामारीका कारण चीनले कोरला नाकामा दुई वर्षदेखि कडाइ गर्दा च्यांग्रा र भेडीचरण तथा त्यस क्षेत्रमा हुने हाटसमेत प्रभावित भएको कम्पनीले जनाएको छ । मुस्ताङमा च्यांग्रा नपाइएपछि यस वर्ष ६ करोड रुपैयाँको तीन हजार हाराहारी खसीबोका खरिद गर्न लागिएको खनालले बताए ।
घटस्थापनाको एक दुई दिनअघि काठमाडौं आइपुग्ने गरी हेटौंडा, दाङ र नेपालगञ्जबाट यो वर्ष खसीबोका ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
