पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा नेपाल विजयी

२२ भाद्र २०७८, मंगलवार १७:४६

काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ ।

उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९।३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

ओडीआईमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर ४६ रन जोडेपछि यो साझेदारी टुट्यो ।

भुर्तेल १२ औं ओभरमा व्यक्तिगत १५ रन जोड्दै आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा पुगे । तर १३ औं ओभरमा आसिफ पनि ३० रन बनाएर आउट भए । नेपालले ४९ रन हुँदा २ विकेट गुमायो ।

त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । तर लोअर अर्डरमा रोहितकुमार पौडेल र सोमपाल कामीले ईनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्‍याए । ८२ रनमा ७ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले उत्कृष्ट साझेदारी गरे ।

छैटौं नम्बरमा ब्याटिङ गरेका रोहितले ४१ रन बनाए भने सोमपाल २२ रनमा अविजित रहे । पीएनजीका लागि गौडी टोकाले ३ तथा डनेमिएन राभु र चाड सोपरले २(२ विकेट लिए ।

त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा अलआउट हुँदै १३४ रन जोडेको थियो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पीएनजी पूरा ओभर क्रिजमा टिक्न सकेन ।