संखुवासभामा ६ जनाको हत्या प्रकरणः अनुसन्धान सुरु

२२ भाद्र २०७८, मंगलवार १०:३३

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको टोलीले अनुसन्धान सुरु गरेको छ ।

सखुंवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानबाट घटनास्थलको अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुगेर सम्भावित आरोपीसम्म पुर्‍याउने काम गर्छ ।

पानी परे पनि कुकुरको प्रयोग गर्ने दाहालले बताए । ‘पानी पर्दा ट्रयाकर डगको प्रभावकारिता कम हुनसक्छ,’ दाहालले भने, ‘हामी सकेसम्म कोसिस गर्छौं ।’

सोमबार बिहान मादी नगरपालिका(१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन् ।