कांग्रेस नेताहरुको सोर्सफोर्समा नियम विपरित गुण्डा नाईके गिरीको सरुवा

२१ भाद्र २०७८, सोमबार ११:४५

काठमाडौं । अपहरण मुद्दाका कैदी अभिषेक गिरीको जिल्ला कारागार मोरङमा सरुवा भएको छ । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली अभियान सञ्चालन गरेपछि तीन वर्षअघि केन्द्रीय कारागार डिल्लीबजार पठाइएका गिरीको पुनः विराटनगर कारागार सरुवा भएको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्न मिल्दैन । एउटै कारागारमा पठाउने परम्परा पनि छैन । तर कांग्रेस नेताहरुको सोर्सफोर्समा उनलाई विराटनगर पठाइएको स्रोतले बतायो ।

नेपाली कांग्रेसका नेताहरुको संरक्षण पाएका गिरी जिल्ला कारागार मोरङमा रहँदा चौकिदार थिए । चौकीदारको रुपमा रहँदा कारागार भित्रैबाट बजारमा फिरौती उठाएको र कारागार भित्र कैदीबन्दीलाई बढी यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा भएको थियो । उनको सरुवाको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । तर पुनः मोरङको चौकिदार बनाउनका लागि उनलाई विराटनगर पठाइएको स्रोतले बतायो ।

पाँच महिनायता काङ्ग्रेस नेताहरुले गिरीलाई विराटनगर ल्याउन खोजेका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनी निकट मोरङका नेताले गिरीलाई विराटनगर ल्याउन लबिङ गरेका थिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा निकट मोरङका नेताको प्रेसर गृहमन्त्रालयमा थियो,’ स्रोत भन्छ, ‘कैदी सरुवा गर्दा रकमको चलखेल पनि भएको बुझिएको छ ।’

अभिषेक गिरीसँगै उनका टीमका अन्य तीन जनाको पनि विराटनगर सरुवा भएको छ । गिरीका सहयोगी अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि विराटनगर सरुवा भएको हो ।

सरुवाका लागि कारागार व्यवस्थान विभाग बन्दी प्रशासन शाखाले कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । शाखा अधिकृत सन्तोष लामिछानेले हस्ताक्षर गरेको पत्रको चलानी नम्बर २८७ छ । पत्रको बोधार्थ मोरङ कारागारलाई दिइएको छ ।

गिरीको पृष्ठभूमी

विराटनगर महानगरपालिका( ११ घर भएका गिरी विराटनगरलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न थिए । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका उनी कारागार भित्रैबाट आफ्नो काम गर्थे । उनलाई नेपाली कांग्रेसका नेताहरुको संरक्षण छ ।

छोटो समयमा अकुत सम्पत्ति कमाएको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा पनि चलाएको थियो । तर अन्य गुण्डा नाइकेसँगै उनले अकुत सम्पत्ति मुद्दामा सफाइ पाएका थिए ।

विराटनगरलाई केन्द्र बनाएका गिरीको अर्का गुन्डा नाइके पर्शुराम बस्नेतसँग पानी बाराबारको अवस्था छ । बस्नेत पछिल्लो समय एमालेको राजनीतिमा छन् ।