काठमाडौं ।
पशुपतिनाथ मन्दिरसहित पाशुपत क्षेत्र व्यवस्थापनको जिम्मा पाएको ‘पशुपति क्षेत्र विकास कोष’भित्र बेथितिको चाङ थपिदै गएको छ । आफ्ना सम्पदा सम्पत्तिको संरक्षण गर्न नसकिरहेको कोष उल्टै देवस्व हिनामिनामा लागेको देखिएको छ ।
पशुपति क्षेत्र विकास कोषले आफ्ना सम्पत्ति भाडामा लगाउँदा मिलेमतो गरेको तथ्य महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले पनि औंल्याएको छ ।
अपारदर्शी र अनियमित तवरले विभिन्न खरिद गर्दा कोषमाथि ठूलो अतिरिक्त व्ययभार परेको छ । कोषले मन्दिर सजावट गर्न र शवदाह मेसिन किन्न गरेका ठेक्कामा मिलेमतो गरेको देखिएको छ ।
त्यसबाहेक उठाउन पर्ने भाडा नउठाउनेदेखि मन्दिरका मूर्तिमा लगाइएका सुनको संरक्षणमा ध्यान नदिनेसम्मका प्रवृत्तिले कोषभित्रको कुशासन प्रष्ट पारेको छ ।
हरायो मूर्तिबाट १७३ तोला सुन
पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन हराएको पाइएको छ ।
२०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा राखिएको ७१३ तोला सुन र १३३।३९४ किलो चाँदीको ‘मोलम्बा’मा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि कोषले आर्थिक वर्ष २०७५र०७६ मा आएर मात्र मर्मतको काम सुरु गर्यो ।
अहिले ती दुई मूर्तिबाट १७३.५ तोला सुन क्षय भएको’ कोषले बताएको छ । कोषले तयार पारेको मुचुल्का अनुसार फूल, रंग र अक्षताका कारण ‘खियावट भएर’ त्यतिका सुन हराएको हो । खियाले नै सकेको भएपनि मुलतः कोषको लापरबाहीका कारण ती मूर्तिबाट हालको मूल्य अनुसार १ करोड ५७ लाख ८९ हजार रुपैयाँको सुन क्षयीकरण भएको छ ।
