भारतमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा अधिकांस बालबालिका

१६ भाद्र २०७८, बुधबार १६:२४

काठमाडौं ।

भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांका बालबालिका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उच्च ज्वरो आउने र धेरै पसिना आउनेजस्ता समस्या देखिएको छ । उनीहरुमध्ये धेरैले टाउको दुख्ने, शरीरमा पानी कम भएको र वाकवाकी लाग्नेजस्ता समस्या देखिएको बताएका थिए ।

केही बिरामीको हात र खुट्टामा बिमिरा आउने समस्या देखिएको थियो ।

उक्त अज्ञात रोगका कारण अहिले सयौं मानिस अस्पतालमा भर्ना भएका छन् । उत्तर प्रदेशको पूर्वी ६ जिल्लामा यसको प्रकोप फैलिएको समाचारमा बताइएको छ ।

अहिलेसम्म यो समस्याको कारण मृत्यु हुने कसैमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भने पुष्टि भएको छैन । हालै मात्र भारत कोरोनाको दोस्रो लहरबाट बिस्तारै बाहिर आउँदै गरेको अवस्थामा उत्तर प्रदेशमा अर्को प्राणघातक रोग देखिएको हो ।

यो समस्या देखिएको जिल्लाका डाक्टरहरुले मृत्युको कारण लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन सक्ने बताएका छन् ।

उनीहरुका अनुसार अस्पताल आउने मानिसको रगतमा प्लेटलेटस्को मात्रा निकै कम देखिएको बताएका छन् । यो लक्षण डेंगुका बिरामीसँग पनि मिल्छ ।