जैविक विषादीको प्रयोग बढ्दै

१५ भाद्र २०७८, मंगलवार १४:५९


काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाडेकी छन् । उनले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आएकी छन् ।

सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा मगरले पनि तरकारीमा न्यून मात्रामा विषादी प्रयोग गर्ने गरेको बताइन् । उनले पनि एग्रोभेटको अनुसार भिटामिन थोरै प्रयोग गर्ने गरेको जानकारी दिँदै विषादीका रूपमा घरेलु उपचार विधि सञ्चो, टिमुर लसुन प्रयोग गरिएको बताइन् ।

अर्का किसान सरस्वती नगरकोटीले टिमुर २० ग्राम, ल्वाङ २० ग्राम, खोर्सानी ५० ग्राम, रक्सी ५० एमएल, लसुन ५० ग्राम, असुर बकाइनो, तितेपाती सुकेको १०० ग्राम एक लिटर पानीमा ४५ मिनेट पकाएर विषादी बनाउन सकिने जानकारी दिइन् ।

चाँगुनारायण नगरपालिका–२ का किसान टेकबहादुर लाखाजुले रसायनिक मल प्रयोग नगरी तरकारी बालीमा जैविक मल प्रयोग गरेको बताइन् ।

उनले उपभोक्ताले पनि जैविक मल प्रयोग गरेको तथा अर्गानिक तरकारी उपभोग गरेर रसायनिक मल र विषादी प्रयोग गरेका तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताइन्।