काठमाडौं ।
पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना सङ्क्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० भन्दा कममा झरेको छ ।
तर सङ्क्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये पहाडी तथा हिमाली जिल्लाहरु खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा सङ्क्रमणको दर १० भन्दा तल झरेको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार खोटाङमा ६ जना, सोलुखुम्बुमा १ जना, सङ्खुवासभामा १ जना, तेह्रथुममा पाँच जना, ताप्लेजुङमा ४ जना र ओखलढुङ्गा सङ्क्रमणमुक्त जिल्ला रहेको छ ।
पहाडी जिल्लामा सङ्क्रमणको दर घटे पनि तराईका जिल्लाहरु सुनसरी, मोरङ र झापामा सङ्क्रमणको दर यथावत् रुपमा रहँदै आएको छ ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुकारी राजवंशीले पहाडी जिल्लामा पछिल्ला एक हप्तादेखि सङ्क्रमणको दर ओरालो झरे पनि बाक्लो बस्ती रहेको तराईका जिल्लामा भने सङ्क्रमणको दर यथावत् हुँदा सङ्क्रमणको जोखिम टरी नसकेको बताइन् ।
