नेपाललाई चीनले दियो धन्यवाद

१४ भाद्र २०७८, सोमबार १३:०७

काठमाडौं ।

कोरोना भाइरसको उत्पत्तिबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

यसअघि अमेरिकाको गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले चीनले निरन्तर कोरोना उत्पत्तिको विषयमा अनुसन्धानमा अवरोध पुर्याएको र अन्य मुलुकलाई डेटा दिन अस्वीकार गरेको देखाएको थियो ।

चिनियाँ दूतावासका प्रवक्ताले भने यो प्रतिवेदन राजनीतिक प्रयोजनका लागि सार्वजनिक गरिएको बताएका छन् । उनले भाइरस उत्पत्तिबारेको राजनीतिकरण गर्ने प्रयासलाई कसैको समर्थन नभएको समेत उनले उल्लेख गरेका छन् ।

अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा वैज्ञानिक आधार नरहेको र यो प्रतिवेदन विश्वसनीय पनि नरहेको चिनियाँ दूतावासका प्रवक्ताले बताएका छन् । त्यसैले यो विषय गुप्तचरको प्रतिवेदनमा नभई वैज्ञानिक अनुसन्धानमा भर पर्ने उनको भनाइ छ ।